नेपालगञ्ज : बाँकेको राप्ती नदीमा भत्किएको तटबन्धन निर्माण नहुँदा स्थानीयवासी डुबान र कटानको जोखिममा रहेका छन् । राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरमा भत्किएको तटबन्धन निर्माण नभएपछि स्थानीयवासी डुबानको त्रासमा बस्न बाध्य भएको स्थानीयवासी सन्तकुमार दिक्षितले बताए ।
उनका अनुसार बस्ती जोगाउन राप्ती नदीमा गरिएको तटबन्धनको केही भाग बाढीले भत्काएर क्षति पु¥याएको छ । तटबन्धनमा पुगेको क्षतिलाई तत्काल मर्मत गरिनुपर्ने र अस्थायी तटबन्धन निर्माण गरिनुपर्ने माग गर्दै आए पनि निर्माण हुन सकेको छैन ।
भत्किएको तटबन्धन तत्काल मर्मत नगरिए त्यस आसपासका छ गाउँ डुबानमा पर्ने स्थानीय राम सनाही मल्लाहले बताए । उनले भने, ‘भत्किएको तटबन्धन तत्काल मर्मत गर्नुपर्छ ।’ उनले राप्ती नदीमा तली रहेको डुङ्गा धेरै पुरानो भयो, वारपार गर्दा नदीमा बाढी आयो भने ठूलो समस्या हुने भएकोले तत्काल नयाँ डुङ्गाको व्यवस्था गरिदिन सरकार सँग आग्रह गरे ।
बस्ती जोगाउन निर्माण भएको तटबन्धन भत्किएका कारण राप्ती नदीमा ठूलो बाढी आयो भने राप्तीसोनारी गाउँपालिकाको वडा नं ६ र ७ मा रहेका बस्तीमा क्षति हुने अवस्था आएको ७ नं वडाध्यक्ष रामलखन थारूले बताए । उनका अनुसार विसम्मवरपुर र पदनाहा गाउँ नजिक रहेको राप्ती नदीको पुरानो तटबन्ध भत्किएका कारण राप्ती नदी बस्तीमा पस्ने खतरा रहेको छ । नदी बस्तीमा पस्नासाथ नरैनापुरमा बनेको बाँध भत्किने र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वा लगायतका गाउँ अति प्रभावित हुने भएकाले स्थानीय त्रसित रहेका छन् ।
यसबारे राप्ती सोनारी गाउँपालिका, जनताको तटबन्ध लगायत सरोकारवाला निकायमा बारम्बार जानकारी गराए पनि मर्मत सम्भारको पहल नभएको अध्यक्ष थारुको गुनासो छ । राप्ती सोनारी–७ फत्तेपुर र नरैनापुर–६ मा भत्केको राप्तीको तटबन्ध तत्काल मर्मत नभए वर्षात्मा ठूलो क्षति व्यहोर्नुपर्ने निश्चित रहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जिल्ला प्रशासन कार्यालयको फेसबुक पेजमा लेखेका छन, “राप्ती नदीले काट्न अब निकै थोरै मात्र बाँकी छ । ठूलो पानी नपरेर बचेको छ । विगत २ महिनामा हामी पाँच पटक गएर समन्वय गर्ने, घच्घच्याउने र थोरै मात्र भए पनि काम गराउने प्रयत्न गर्दै छौँ । हाम्रो प्रयास मात्र पर्याप्त छैन, सम्बन्धित निकायको ध्यान गएको छैन । राप्तीसोनारी–७, खल्ला झगडियाको यो बाँध भत्किएमा रातीसोनारी र नरैनापुरका कैयन् बस्तीहरू र हजारौँ बिगाह जग्गा जोखिममा पर्ने निश्चित छ । त्यसैले सक्दो पूर्वतयारी र पुनर्निर्माणमा सबैको ध्यान जाओस् ।”
वर्षा अगाडि तटबन्ध मर्मत नभएमा ठूलो जनधनको क्षति हुनुका साथै संघीय सरकारले लगानी गरेको अर्बौँको लगानी पनि डुब्ने नरैनापुर गाउँपालिका–६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्यले बताए । नरैनापुर–६ मा करिब डेढ सय मिटर क्षेत्र मात्रै तटबन्ध मर्मत गर्नुपर्ने देखिएको छ । तटबन्धन मर्मत नभए सोनवर्षा गाउँ डुब्ने डर रहेको उहाँको भनाइ छ । राप्ती नदीको विभिन्न ठाउँमा निर्माण गरिएको तटबन्धनमा २०७९ असोज महिनामा आएको बाढीले क्षति पु¥याएको थियो ।
भत्किएको तटबन्धन निर्माणका लागि गाउँपालिका अध्यक्ष, प्रदेश र संघीय सांसदहरूले पटक पटक निरीक्षण तथा अवलोकन गरे पनि काम सुरु हुनसकेको छैन । सांसद सूर्य ढकालले राप्ती नदीको तटबन्धनको काम तत्काल सुरु गर्न सदनमा माग गरेका थिए । उनले तत्कालका लागि भत्किएको तटबन्धन निर्माण गर्ने र अन्य स्थानमा पनि नियमित रूपमा तटबन्धनको काम सुरु गर्न सभामुख मार्फत संघीय सरकारको ध्यानाकर्षण गराएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार