Listen LIVE

उपचारको व्यवस्था गर्न हिल्सावासीको माग

हुम्ला : उत्तरी सीमा क्षेत्र नाम्खा गाउँपालिका– ५ को हिल्सावासीले उपचारको व्यवस्था गर्न माग गरेका छन् । स्थानीय स्वास्थ्य संस्थामा उपचारको व्यवस्था गर्न उनीहरुको माग छ ।

हिल्साका स्थानीय बिरामी भएपछि ३० किलो मिटर टाढास्थित चीनको ताक्लाकोट जानुपर्ने भएपछि गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयसँग स्वास्थ्य संस्था स्थापना गरेर नियमित उपचारको व्यवस्था गर्न माग गरिएको हो ।

हिल्साका व्यावसायी मुकुमबहादुर तामाङले बिरामीका लागि उपचार गर्ने निकाय हिल्सामा नभएका कारण स्वास्थ्य संस्था स्थापना गर्न आवश्यक रहेको बताए । हिल्सामा कोही बिरामी भए चीनको ताक्लाकोटमा गएर उपचार गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयसँग सामान्य उपचारको व्यवस्था गर्न समेत उनले आग्रह गरे ।

यता ताक्लाकोट लगिने बिरामीहरु सिमा पास प्राप्तले मात्र जान पाउछन् भने सिमापास नभएका बिरामीहरुलाई भने जिल्ला अस्पताल लगिने गरिएको उनले बताए ।

सशस्त्र प्रहरीले प्राथमिक उपचार गर्नु पर्ने बिरामी भए चौकीले औैषधी उपलब्ध गराउने जनाएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी बाहेक हाल हिल्सामा ६० घरधुरीका साढे पाँच सय स्थानीय बस्दै आएका छन् ।

हिल्सा कै अर्की स्थानीय पामा तामाङले बालबालिकाहरु बिरामी भए उपचार गर्ने निकाय नै नभएको बताउँदै २० जना नियमित खोप लगाउने बालिबालिका खोपबाट बञ्चित भएको बताइन् ।

कोरोनापछि चीनले हिल्सा नाका दुईतर्फी सञ्चालन गर्दा नाम्खा गाउँपालिकाले अस्थायी स्वास्थ्य चौकी र कोरोना परीक्षण डेस्क स्थापना गरिएको भए पनि हाल बन्द भई सकेको छ ।

हिल्साका स्थानीयको उपचारका लागि मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारको ५० लाख आर्थिक सहयोगमा स्वास्थ्य चौकी स्थापना गरिए पनि हाल सो भवन बन्द रहेको छ ।

प्रतिक्रिया