नेपालगञ्ज : नेपाल प्रेस युनियन बाँकेले आफ्नो ३४औं स्थापना दिवसको अवसरमा आज नेपालगञ्जमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरेको छ ।
स्वास्थ्यकर्मी संघको समेत स्थापना दिवसको सन्दर्भ पारेर स्वास्थ्यकर्मी संघसंग मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्वास्थ्यकर्मी संघले ६–१ को जीत निकाल्यो ।
स्वास्थ्यकर्मीको तर्फबाट तारा ओली, एकेन्द्र कठायत, सन्देश बहादुर शाही, दिवस अधिकारी, नवीन बिसि र सन्जिव चौधरीले गोल गरे । त्यसैगरी प्रेस युनियनको तर्फबाट समिरमान श्रेष्ठको पासमा सुनिल रेग्मीले सान्त्वना गोल फर्काए ।
मैत्रीपूर्ण फुटबल खेल हुनु अघि नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले प्रतियोगिताको उदघाटन गरेका थिए । उनले दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिताले स्वास्थ्यप्रति सचेत हुन सन्देश प्रबाह गरेको बताए ।
उनले काँग्रेसका भातृ तथा शुभेच्छुक संघसंस्थाहरुले आफ्ना गतिविधिहरु अत्यन्तै चलायमान बनाएको भन्दै यसले अरुलाई पनि आकर्षित पारिरहेको उल्लेख गरे ।
नेपाल पत्रकार महासंघ बाँकेक अध्यक्ष समेत रहेका नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरीले लोकतन्त्रबादी पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियनको बिश्व समुदायमा छुट्टै पहिचान रहेको बताए ।
मुलुकमा भएका महत्त्वपूर्ण परिवर्तनमा लोकतन्त्रबादी पत्रकारहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यस्ता कार्यक्रमले स्वास्थ्यकर्मीसंग एक आपसमा सम्बन्ध सुधारमा पनि योगदान दिने बताए ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसी, नेपाली काँग्रेस बाँकेका सल्लाहकार नीरज कुमार गौतम, लुम्बिनी प्रदेश सदस्य गौरव गिरी, निवर्तमान बाँके अध्यक्ष अर्जुन ओली, नेफाका लुम्बिनी प्रदेश सचिव नरेश श्रेष्ठ, स्वास्थ्यकर्मी संघ बाँकेका सचिव तेज ओली लगायतको उपस्थिति रहेको थियो ।
युनियनका सचिव भीष्म लोधले सञ्चालन गरेको सो कार्यक्रममा स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष जागेश्वर बस्नेतले स्वागत मन्तव्य दिएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार