नेपालगञ्ज : बाँकेको नरैनापुर ५ स्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । सो मन्दिरका बारेमा विभिन्न माध्यमबाट नेपाल र भारतका सर्वसाधारणलाई जानकारी प्राप्त हुन थालेपछि त्यहाँ पुग्ने नेपाल र भारतका दर्शनार्थीहरुको सङ्ख्या अत्यधिक बढेको हो ।
नरैनापुर ५ स्थित पहाडको चुच्चोमा रहेको सो मन्दिर निकै रमणीय स्थानमा रहेको र त्यहाँ सन्तान नहुनेहरूको मनोकामना पुरा हुने गरेकोले पनि नेपाल र भारतका विभिन्न स्थानबाट दर्शन गर्न आउनेहरू बढ्दै गएको मन्दिरका पुजारी योगानन्द गिरिले बताए । उनले केही वर्ष पहिलेसम्म सन्तानेश्वर महादेवको महिमा बारे धेरै कमलाई मात्र थाहा भएकोमा निकै कम मानिस आउने गरेकोमा हाल दैनिक सयौँको सङ्ख्यामा देश विदेशबाट श्रद्धालुहरू आउन थालेको बताए ।
पुजारी गिरिले थपे, “यहाँ सन्तान नभएकाले भाकल गरी स्वच्छ मनले पूजा अर्चना गरे सन्तान लाभ हुने धार्मिक विश्वास रहेकोले पछिल्लो समयमा टाढाटाढाबाट सन्तानका लागि पनि दम्पतीहरू आउन थालेका छन् ।“
सन्तानेश्वरमा ॐ आकारको पहाडको चुचुरोको मुनि गङ्गा जमुना र सरस्वती प्रभावित भएको हुँदा विशेष महत्त्व रहेको मन्दिरका पुजारी गिरिको भनाइ छ । चुरे पहाडको चुचुरोमा मन्दिर रहेकाले भगवानको दर्शनसँगै प्राकृतिक मनोरम दृश्यले यहाँ दर्शनका लागि आउने पर्यटकहरू आकर्षित हुने गरेको स्थानीय यम बहादुर खड्काले बताए । उनका अनुसार मन्दिरसम्म पुगन खोलानाला, जङ्गल र पहाड चढ्दै गरिने यात्राले सहरको कोलाहलबाट टाढा रही आनन्दित गर्दछ भने मन्दिर परिसरबाट राप्तिसोनारी र नरैनापुर गाउँपालिकाको अवलोकन समेत गर्न सकिन्छ ।
धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको यस क्षेत्रको पूर्वाधार विकासमा राज्यले ध्यान दिन जरुरी रहेको त्यहाँ पुग्ने श्रद्धालुहरूको भनाइ छ । सो मन्दिरमा पुग्ने सडक, विश्रामस्थल, खानेपानी र बिजुली बत्तीलगायत आवश्यक पूर्वाधारहरू निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने पर्यटन व्यवसायी श्रीराम सिग्देलको भनाइ छ ।
नेपालगञ्जदेखि २५ किलोमिटर पूर्व हुलाकी सडकको यात्रा पछि नरैनापुर गाउँपालिका ५ लालपुर आउँछ, त्यहाँबाट करिब ६ किलोमिटर जङ्गलको कच्ची बाटोमा मोटरसाइकल यात्रा गर्नुपर्दछ । त्यसपछि करिब दुई किलोमिटर पैदल यात्रा गर्दै पहाड चढेपछि सन्तानेश्वर मन्दिर पुगिन्छ ।
मन्दिरसम्म पुग्ने सडकको व्यवस्था नहुँदा बृद्धबृद्धा र बालबालिकालाई मन्दिरसम्म पुग्न समस्या हुँदै आएको छ । धार्मिक पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारदेखि प्रदेश र केन्द्र सरकारले विशेष योजना बनाउनुपर्ने माग स्थानीय बासिन्दाको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार