Listen LIVE

नेपालगञ्जमा ‘शान्ति स्मारक’ बन्ने

नेपालगञ्ज : सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियासम्म आइपुग्दा यस क्षेत्रका जनताले भोगेका पीडा र समस्यालाई झल्काउने गरी नेपालगन्जमा ‘शान्ति स्मारक’ निर्माण गरिने भएको छ। 

द्वन्द्वपीडित तथा एक महिला सञ्जाल बाँकेले सो शान्ति स्मारक निर्माण गरेर द्वन्द्व, शान्ति र त्यससँग जोडिएका स्मृतिलाई उजागर गर्ने निर्णय गरेको द्वन्द्वपीडित तथा एक महिला सञ्जाल बाँकेका अध्यक्ष एकमाया बिकले जानकारी दिइन्। 

द्वन्द्वपीडित तथा एक महिला सञ्जाल बाँकेले शान्ति स्मारक निर्माणका बारेमा विभिन्न सरोकारवाला निकायसँग छलफल गरेर सुझावसंकलन गरेको छ।

देशमा शान्ति स्थापना र परिवर्तनका लागि नागरिकले ठूलो मूल्य चुकाउनु परेको अवस्थाबारे नयाँ पुस्तालाई जानकारी गराउनका लागि स्मारक महत्त्वपूर्ण बन्ने विश्वास गरिएको छ। 

छलफलमा राष्ट्रिय मानवअधिकार आयोगको नेपालगञ्ज स्थित कार्यालयका प्रमुख द्वारिका अधिकारीले यस्ता स्मारकले शान्तिलाई कायम राख्न तथा द्वन्द्वबाट टाढा रहन आम जनमानसलाई शिक्षा दिने आशा गरिएको बताए। 

कार्यक्रममा इन्सेकका लुम्बिनी प्रदेश प्रमुख तथा मानवअधिकारकर्मी भोला महत र अधिकारकर्मी अगुवा प्रकाश उपाध्याय, सुरेश गौतम, वसन्त गौतम लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया