Listen LIVE

कञ्चनपुरको चौधर नदी बस्तीमा पस्यो, तीन सय परिवार प्रभावित

कञ्चनपुर : कञ्चनपुरको चौधर नदी धार परिर्वतन गर्दै बस्तीमा पसेको छ। हालै आएको बाढीले चौधर नदीले धार परिवर्तन गर्दा बेल्लाडी गाउँपालिका र बेलौरी नगरपालिकाका केही वडा प्रभावित बनेका छन्।

बेल्डाडी गाउँपालिका–५ भुर्षामा चौधर नदीले धार परिवर्तन गरी महाकाली सिँचाइको नहर भत्काएपछि सो क्षेत्रका तीन सयभन्दा बढी परिवार प्रभावित बनेका छन्। 

बेल्डाडी गाउँपालिका–५ का वडाध्यक्ष इन्द्र खड्काले चौधर नदी बस्ती पस्दा इमलिया, झिलमिला, वैवाहा, खैरीघाट र बेलौरीको भुडा शिवनगर, कानपुर र कलकत्ता बस्ती डुबानमा परेको बताए। “अहिले पनि बस्तीमा पसेको पानी सुकिसकेको छैन”, उनले भने, “तत्काल नहर क्षेत्रको तटबन्ध नबने ठूलो क्षति हुने भय छ।” 

बाढीका कारण गणेश माध्यमिक विद्यालयमा ठूलो क्षति पुगेको छ। बाढीले नहर क्षेत्र कटान गर्दा सो क्षेत्रमा सवारी आवागमन अझै प्रभावित बनेको छ। चौधर नदी गाउँ पस्दा बेल्डाँडी र बेलौरी नगरपालिकामा एक हजार बिघाभन्दा बढी खेतमा लगाएको धानबाली नष्ट भएको स्थानीयवासी बताउँछन्।

केही स्थानीयको घरसमेत नदीले बगाएपछि बिचल्ली भएको छ। यता बेल्डाँडी गाउँपालिकामा बाढीले एक हजार पाँच सयभन्दा बढी परिवार प्रभावित भएको गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले बताए।

“बाढीले ६ सय परिवारको घरमा भएको अन्न नै बगाएको छ”, अध्यक्ष रानाले भने, “चौधर नदीले बगाएको नहर नबने यहाँ धेरै क्षति हुने त्रास छ ।” यहाँका विस्थापितलाई बेल्डाँडी–२ स्थित मोर्डन केयर बोर्डिङ स्कुलमा राखिएको छ।

त्यसैगरी, बेलौरीको बाराझाला, भुडा, कानपुर र कलकत्तामा अझै सहज अवस्था भइसकेको छैन। तीन दिनदेखि बेलौरी नगरपालिका–१० भुडाबाट बेलौरी–८ कलकत्तासम्म सडकमा पानी भरिँदा सडक ठप्प छ। 

बेलौरी नगरपालिका–१० मा चार सय र वडा नं ८ मा एक सय ५० परिवार चौधर नदीमा आएको बाढीबाट प्रभावित भएका छन्। त्यहाँ ५० मिटर नहरको भाग नदीले बगाएको छ भने  एक सय २० मिटर नहरमा क्षति पुगेको छ। सिँचाइ कार्यालयले २०६५ सालमा पनि नहर भत्किएर बाढी गाउँ पस्दा सो क्षेत्रमा ठूलो क्षति भएको जनाएको छ। 

बाढीले मूल नहरमा क्षति पु¥याएकाले तीन हजार चार सय बिघा सिञ्चित क्षेत्रमा पानी सञ्चालन गर्न नसकिने भएकाले तत्काल नहर मर्मतका लागि सिँचाइ विभागलगायत निकायसँग सहयोगको आग्रह गरिएको छ।

प्रतिक्रिया