नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरेको सामुदायिक स्वास्थ्य तथा घरदैलो कार्यक्रम प्रभावकारी बन्दै गएको छ। गाउँपालिकाले सुरु गरेको यो अभियानले स्वास्थ्य सेवा नागरिकको घर आँगनसम्म पुर्याउँदै सचेतनाको स्तर बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।
गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहका अनुसार, समयमै स्वास्थ्य सम्बन्धी जानकारी नपाउँदा धेरै नागरिकले अकालमै ज्यान गुमाउनुपरेको विगतका अनुभवलाई मध्यनजर गर्दै कार्यक्रम अघि बढाइएको हो । “रोग लागेपछि मात्र अस्पताल जाने प्रवृत्तिलाई तोडेर रोग लाग्न नदिन र प्रारम्भिक अवस्थामै पहिचान गर्न यो कार्यक्रम ल्याएका हौँ,” अध्यक्ष शाहले भने।
कार्यक्रमअन्तर्गत गाउँपालिकाका सबै ६ वटा वडामा अनमी, स्टाफ नर्स र अहेव गरी १२ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ। उनीहरूले मुटुरोग, मानसिक स्वास्थ्य समस्या, पाठेघर तथा स्तन क्यान्सर, गर्भवती महिला, सुत्केरी, ज्येष्ठ नागरिक, बालबालिका तथा किशोर–किशोरीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, परामर्श र सचेतनामूलक सेवा प्रदान गर्दै आएका छन्।
स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहका अनुसार अभियानमार्फत प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाइल तयार गरिनेछ। “नागरिकको अवस्था पहिचान गरेर तथ्याङ्कमा आधारित सेवा प्रवाह गर्ने हाम्रो लक्ष्य हो,” उनले भने ।
जनस्वास्थ्य अधिकृत करम चौधरीले अभियानलाई अर्थपूर्ण र दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमको रूपमा व्याख्या गर्दै सम्पूर्ण वडामा स्वास्थ्यकर्मी परिचालन गरी तथ्याङ्क सङ्कलन र जनचेतना विस्तारको काम सुरु भइसकेको जानकारी दिए।
यसैबीच, कटकुइया स्वास्थ्य चौकीका इन्चार्ज दिनेश मौर्यले नरैनापुर मधेशी र मुस्लिम बाहुल्य क्षेत्र भएकाले सामाजिक र सांस्कृतिक कारणले केही चुनौती देखिए पनि अभियानलाई निरन्तरता दिन सके उल्लेख्य सफलता हासिल हुने विश्वास व्यक्त गरे।
कटकुइया स्वास्थ्य चौकीमा कार्यरत अनमी सामना क्षेत्री गुरुङले नरैनापुर–१ गाउँपालिकाकै सबैभन्दा चुनौतीपूर्ण क्षेत्रमध्ये एक भएको बताउँदै भारतीय सीमासँग जोडिएकोले यहाँ चेतनाको स्तर अन्य वडाको तुलनामा निकै कम रहेको उल्लेख गरिन्े । “धेरै महिलाले गर्भधारणपछि आवश्यक ध्यान नदिने र समयमै स्वास्थ्य जाँच नगर्ने गरेको पाइन्छ, जसले आमा र बच्चा दुवैको ज्यान जोखिममा पार्ने गरेको छ,” उनले भनिन।
२४ घण्टा कटकुइया स्वास्थ्य चौकीमै बसेर निरन्तर सेवा दिँदै आएकी सामना क्षेत्री गुरुङ स्थानीय जनताको प्रिय स्वास्थ्यकर्मीका रूपमा परिचित छिन् । उनी भन्छिटन, “पहिला महिलाहरू स्वास्थ्य चौकी आउन डराउँथे, अहिले बिस्तारै विश्वास बढ्दै गएको छ । घरदैलो अभियानले गर्भवती र सुत्केरी महिलालाई ठूलो फाइदा पुगेको छ।”
चेतना क्रमशः बढ्दै गएको उल्लेख गर्दै उनले भनिन, “आज भोलि आफैँ फोन गरेर जाँचका लागि बोलाउने अवस्था आएको छ, यही परिवर्तन हाम्रो अभियानको सफलता हो ।”
वडा नं. १ का वडा अध्यक्ष इसाक जोलाहले सामुदायिक स्वास्थ्य तथा घरदैलो कार्यक्रमले दुर्गम र पछाडि पारिएका समुदायसम्म स्वास्थ्य सेवा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताए।
“हाम्रो वडा सामाजिक र भौगोलिक रूपमा चुनौतीपूर्ण छ। धेरै नागरिक अझै पनि सामान्य स्वास्थ्य समस्यामा समेत स्वास्थ्य संस्थामा पुग्न सकिरहेका छैनन्,” उनले भने, “घरदैलो कार्यक्रममार्फत स्वास्थ्यकर्मी आफैँ नागरिकको घरसम्म पुगेपछि सेवाप्रति विश्वास बढेको छ र स्वास्थ्य परीक्षणतर्फको पहुँच सहज बनेको छ ।”
वडा अध्यक्ष जोलाहले विशेषगरी गर्भवती, सुत्केरी महिला, ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि यो अभियान अत्यन्तै उपयोगी रहेको उल्लेख गर्दै कार्यक्रमलाई निरन्तरता दिन सके वडाको समग्र स्वास्थ्य अवस्था उल्लेख्य रूपमा सुधार हुने विश्वास व्यक्त गरे ।
स्थानीयवासीहरू पनि स्वास्थ्यकर्मीको सक्रियता र निरन्तर उपस्थितिले आफूहरू सुरक्षित महसुस गर्न थालेको बताउँछन्। गाउँपालिकाले यो अभियानलाई अझ विस्तार गर्दै दीर्घकालीन स्वास्थ्य सुधारको आधार बनाउने तयारी गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार