Listen LIVE

मुसीकोटको दलित बस्ती पहिरोको उच्च जोखिममा

रुकुमपश्चिम : रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१ छिङको दलित बस्ती पहिरोको उच्च जोखिममा छ । लगातार वर्षाका कारण गाउँमुनिबाट आएको ठुलो पहिरोले बस्ती नै जोखिममा परेको हो । 

वडा अध्यक्ष ज्ञानु चन्द्र चन्दका अनुसार सिङ्गो गाउँ सहित २२ घर उच्च जोखिममा छ । उच्च जोखिममा रहेका घरपरिवारहरु छिमेकी टोलमा रहेका आफन्तहरुको घरमा बसेको समेत वडा अध्यक्ष चन्दले जानकारी दिए । विस्थापित परिवारहरुलाई स्थानीय विद्यालयमा सार्न पहल गरिएको तर उनीहरुले आफन्तकोमा बस्न सहज हुने बताएकोले सबै परिवार बाँडिएर आफन्तकोमा बसेको उनले जनाए । 

स्थानीय बिमला नेपालीले गाउँमुनिकोे पहिरोमा बस्ती मिसिने उच्च जोखिम बढेको जनाए । अहिले जोखिममा घर भएका सबैले छोडेर आफन्तकोमा बस्न थालेको उहाँले बताउनुभयो । घरमा भएका सबै सामान सुरक्षित स्थानमा सारिएको छ । पानी नपरेको बेला र दिउँसो घरमा गएर खाना पकाएर खाने र साँझपख छिमेकी टोलका आफन्तहरुको घरमा सुत्न जाने गरेको नेपालीले बताए । 

पहिरोको दीर्घकालीन रोकथाम र तत्काल विस्थापित परिवारहरुको लागि राहत सामग्रीको आवश्यकता रहेको बताइएको छ ।

प्रतिक्रिया