Listen LIVE

छैटौं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु

म्याग्दी : म्याग्दीको बेनी नगरपालिमा विद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । बिहीबारदेखि बेनीको खुल्ला मञ्चको खेलमैदानमा सुरु भएको खेलकुद प्रतियोगितामा नगरपालिकाभित्रका विभिन्न २७ विद्यालयले सहभागिता जनाएका छन् ।

खेलकुद प्रतियोगिताको जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले उदघाटन गर्दै प्रतियोगिताले विद्यार्थीमा खेलप्रतिभाको पहिचान र विकासलाई टेवा पुग्ने विश्वास व्यक्त गरिन् । 

नगरस्तरमा सञ्चालन भएका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा खेलप्रतिभाको विकासका लागि र राष्ट्रियस्तरमा खेलाडी उत्पादन गर्न प्रतियोगिताले टेवा पुग्ने नगर प्रमुख सुरत केसीले बताए । प्रतियोगिताहरूले खेलाडीहरूको प्रतिभा पहिचान गरी क्षेत्रीय र राष्ट्रियस्तरमा पुर्याउन सहयोग पुगेको उनको भनाइ छ । 

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विद्याका विभिन्न तीन सय ७८ इभेन्टमा विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने नगरपालिका शिक्षा शाखा अधिकृत कमलप्रसाद ढकालले बताए । उनका अनुसार प्रतियोगितामा करिब ८ सय खेलाडी विद्यार्थीको सहभागिता छ । 

प्रतियोगितामा विजेतालाई ५१ हजार रुपैयाँको साथमा रनिङ शिल्ड, ट्रफी, पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् प्रतियोगिताका संयोजक चक्र केसीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः ४० हजार र ३० हजार रुपैयाँको साथमा ट्रफी, पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । 

कार्यक्रममा नगर उपप्रमुख ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृति अर्जुन शर्मा, शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव क्षेत्रबहादुर भण्डारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठलगायतले खेलकुद प्रतियोगिताले विद्यार्थीमा खेल क्षमताको पहिचान र अनुशासित बनाउन सहयोग पुग्ने विचार व्यक्त गरे ।

प्रतिक्रिया