Listen LIVE

लुम्बिनी कपका लागि नेपालगञ्ज रंगशाला सजाइयो

नेपालगञ्ज : लामो समयपछि हुन थालेको अन्तर्राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिताका लागि नेपालगञ्ज रंगशालालाई चिटिक्क पारिएको छ ।

नियमित अभ्याससमेत नभइरहेको यो रंगशालामा बैशाख ५ गतेदेखि लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदैछ ।

बाँके जिल्ला फुटबल संघको समन्वयमा अन्तरालले आयोजना गरेको प्रतियोगितामा तीन विभागीय टीमसहित आठ वटा टीमले प्रतिस्पर्धा गर्दैछ ।

अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिएकाले केही महिनादेखि नै रंगशालाको सजावट थालिएको थियो । नियमित पानी राख्दा तथा घाँस पलाएर यतिबेला रंगशालालाई हरियाली बनाइएको छ ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बेलामा रोपिएको ४० लाखको बर्मुडा दुबोको नामोनिसान मेटिएपनि दैनिक स्याहार गर्दा स्थानीय दुबो पलाएर रंगशाला सुन्दर देखिएको छ ।

५ लाख ५ हजार ५ सय ५५ राशीको प्रतियोगितामा त्रिभुवन आर्मी क्लव, नेपाल प्रहरी, एपीएफ, सुदूरपश्चिम, बाँके, कर्णाली, रौतहट र भारतको सिलिगुडी एफसी सहभागी रहेको अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले जानकारी दिए ।

आठौँपछि ठूलो प्रतियोगिता यो रंगशालामा आयोजना गरिएकाले यहाँका फुटबलप्रेमी खुशी भएका छन् । सरसफाई र मर्मतमा उचित बजेट नआउने भएकाले नेपालगञ्ज रंगशाला जीर्ण बन्दै गएको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया