Listen LIVE

समयमै नकिन्दा आइरनचक्कीदेखि एन्टिरेबिज भ्याक्सिनको अभाव

काठमाण्डौ : समयमै खरिद नगर्दा आइरन चक्की र फोलिक ट्याब्लेट‚ एन्टिरेबिज लगायतका अत्यावश्यक औषधि अभाव हुन थालेको छ।

यतिखेर देशभर नै गर्भावस्था तथा सुत्केरीपछि ४५ दिनसम्म महिलाले अनिवार्य खानुपर्ने आइरन चक्की र फोलिक ट्याब्लेटको पनि  अभाव भएको छ।

केही संघ, प्रदेश र स्थानीय तहमा दुई महिनादेखि आइरन चक्की अभाव भएको हो। स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भने‚ ‘केही ठाउँमा आइरन चक्की र फोलिक ट्याब्लेट सकिएको भन्ने खबर आइरहेका छन्।’

हरेक वर्ष आइरन चक्की प्रदेशबाट खरिद भएर स्थानीय तहमा वितरण हुँदै आएको थियो। दुई वर्षअघि संघले दुई वर्ष पुग्ने आइरन चक्की खरिद गरी स्थानीय तहलाई दिएको थियो तर अहिले आएर यही चक्कीहरू अभाव भएको हो।

‘दुई वर्षअघि खरिद गरेर पठाइएको थियो, केही स्थानीय तहले आफै पनि खरिद गर्ने गरेका थिए तर अहिले सकियो भन्दै माग बढिरहेको छ। सबै ठाउँमा सकिएको नहुन सक्छ‚ हामीले समन्वय गरिरहेका छौँ’‚ पोषण शाखा प्रमुख थापाले भने।

थापाका अनुसार केही आइरन चक्कीको मिति सकिएकाले केही स्थानीय तहमा आइरन चक्कीको अभाव भएको हो। सरकारले गर्भवती, सुत्केरी र किशोरीलाई आएरन चक्की निःशुल्क वितरण गर्दै आएको छ। साथै, विद्यालय स्वास्थ्य अन्तर्गत विद्यालयमा अध्ययनरत किशोरीलाई निःशुल्क आइरन चक्की वितरण गर्दै आएको छ ।

चिकित्सकका अनुसार शरीरमा हेमोग्लोबिन बनाउन आइरन जरुरत हुन्छ। गर्भावस्था र सुत्केरी अवस्थामा हेमोग्लोबिनको मात्रा कमी नहोस् भनेर आइरन चक्की दिइन्छ। सामान्यतया महिलाको १३ ग्रामप्रति डेसिलिटर हेमोग्लोबिन आवश्यक पर्छ।

एन्टिरेबिज भ्याक्सिन पनि छैन

प्राणघातक रोग रेबिजविरुद्ध लगाइने एन्टिरेबिज भ्याक्सिन पनि यतिखेर अभाव भएको छ।

रेबिजविरुद्धको भ्याक्सिन करिब ६ महिनादेखि खरिद प्रक्रिया अघि नबढ्दा अभाव हुन थालेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद गरेर निःशुल्क वितरण गर्दै आएको एन्टिरेबिज भ्याक्सिन यतिखेर काठमाडौं बाहिर अभाव हुन थालेको छ।

यसले गर्दा जिल्ला अस्पतालहरूले एन्टिरेबिज भ्याक्सिन नभएको हुँदा सेवा दिन नसकिने सूचना निकाल्न थालेका छन्। हालै मात्र जिल्ला अस्पताल दार्चुलाले सूचना जारी गर्दै भनेको छ, “रेबिजविरुद्धको खोप आपूर्तिकेन्द्रहरूबाट उपलब्ध नभएका कारण सेवा बन्द गरिएको छ ।”

प्रतिक्रिया