Listen LIVE

अमर गायिका तारा देवीको स्मृतिमा सांगीतिक कार्यक्रम

काठमाण्डौ : नेपाली संगीत क्षेत्रकी अमर गायिका तारा देवीको स्मृतिमा श्रद्धा, सम्मान र सांगीतिक प्रस्तुतिसहित विशेष कार्यक्रम सम्पन्न भएको छ । तारा देवी स्मृति फाउण्डेसनको आयोजनामा तथा काठमाडौं महानगरपालिकाको सह–आयोजनामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा उक्त विशष समारोह सम्पन्न भएको हो ।

समारोहको शुरुवात अमर गायिका तारा देवीको तस्बिरमा माल्यार्पण गर्दै गरिएको थियो । त्यस अवसरमा उनका कालजयी गीत, नेपाली संगीतमा पुर्याएको योगदान तथा व्यक्तित्वमाथि चर्चा गरिएको थियो । त्यसपछि प्रस्तुत गरिएका विविध सांस्कृतिक तथा सांगीतिक कार्यक्रममार्फत तारा देवीको कला र सृजनालाई स्मरण गरिएको थियो ।

प्रत्यक्ष संगीत प्रस्तुति क्रममा तारा देवीका सदाबहार गीतहरू गुञ्जिँदा कार्यक्रमस्थल भावुक वातावरणले भरिएको थियो । उनका गीतहरूले दर्शक तथा श्रोताहरूलाई भावनात्मक बनाएको थियो भने नयाँ पुस्ताले पनि उनको संगीतको गहिरो प्रभाव अनुभूति गर्ने अवसर पाएका थिए ।

समारोहमा वरिष्ठ कलाकार किरण खरेल, संगीतकार दीपक जंगम तथा संगीतकर्मी एवं काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य विशेष अतिथिका रूपमा सहभागी थिए । अतिथिहरूले तारा देवी नेपाली संगीतको इतिहासमा कहिल्यै नमेटिने नाम भएको उल्लेख गर्दै उनको योगदान सधैँ स्मरणीय रहने धारणा व्यक्त गरेका थिए ।

समारोहकै अवसरमा नेपाली गीत–संगीतको विकासमा उल्लेखनीय योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुने व्यक्तित्वहरूमा गीतकार माधवप्रसाद खनाल, संगीतकार शिवशंकर मानन्धर तथा चर्चित गायिका संगीता राना प्रधान रहेका थिए । सम्मान ग्रहण गर्दै स्रष्टाहरूले तारा देवीजस्ता महान् कलाकारको स्मृतिमा आयोजना गरिने कार्यक्रमले नेपाली संगीतको गरिमा अझ उचो बनाउने विश्वास व्यक्त गरेका थिए ।

आयोजक संस्था तारा देवी स्मृति फाउण्डेसनका अध्यक्ष दिपक केसीले तारा देवी नेपाली संगीतकी प्रेरणादायी हस्ती भएको उल्लेख गर्दै उनका गीत, स्वर र योगदान सदैव स्मरणीय रहने बताए । यस्ता कार्यक्रमहरूले पुराना स्रष्टाको योगदानलाई उजागर गर्नुका साथै नयाँ पुस्तालाई नेपाली गीत–संगीतप्रति आकर्षित र प्रेरित गर्ने विश्वाससमेत उनले व्यक्त गरे ।

कार्यक्रमले तारा देवीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली संगीतको इतिहास र यसको निरन्तरताबारे सोच्न प्रेरित गरेको सहभागीहरूको प्रतिक्रिया रहेको थियो ।

प्रतिक्रिया