Listen LIVE

रानाथारु समुदायमा तीजको रौनक शुरु

धनगढी : सुदूरपश्चिम प्रदेशको तराईबासी रानाथारु समुदायमा तीजको रौनक शुरु भएको छ । 

भोलि श्रावण शुक्ल तृतीयाका दिन मनाउने तीजको एक दिन अगावैबाट यो समुदायमा पर्वको चहलपहल सुरु भएको हो । रानाथारु समुदायका महिलाले आफ्नो दाजुभाइ र भतिजाको दीर्घायुको कामना गर्दै तीज व्रत बस्ने चलन छ । यो समुदायको तीज भोलि परेको छ । 

पर्वको अवसर पारेर रानाथारु गाउँमा सामनको डोलामा रमाउने कार्य भइरहेको रानाथारु समुदायका अगुवा नारायण रानाले बताए । उनका अनुसार तीजको दिन महिला दिदीबहिनीहरु दिनभरि व्रत बस्ने र पूजाआजा गरेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका परिकार खाएर रमाउने चलन रहेको छ । 

तीजमा महिलाले सामूहिक रुपमा सामनको डोला (पिङ) खेलेर रमाउने चलन रहेको छ । यस क्रममा परम्परागत मौलिक गीत गाइने गरेको धनगढी गाउँका भलमन्सा भज्जी रानाले बताए । कैलाली, कञ्चनपुरमा रानाथारु समुदायको बसोबास रहेको छ ।

यो समुदायका महिलाले अन्य समुदायका महिलाभन्दा अगाडि तीज पर्व धुमधामसंग मनाउने गरेका छन् । रानाथारु समुदायको तीजको अवसर पारेर धनगढी उपमहानगरपालिकाको कार्यालयले भोलि धनगढी नगरभरि स्थानीय सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया