Listen LIVE

अवरुद्ध कालीगण्डकी कोरिडोर खुल्यो

तम्घास : शुक्रबारदेखी अवरुद्ध कालीगण्डकी कोरिडोर खुलेको छ। अविरल वर्षाका कारण कोरिडोरको हर्मीचौर  सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। उक्त सडकखण्डको गरगरे, मुल्क, पातीखोला र बरल्वामा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालन भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिए। 

गुल्मी खण्डको सडक खुलेको र बागलुङ तर्फको सडक पहिरोका कारण अझै बन्द रहेको उनको भनाइ छ।  कोरिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका थिएनन्। ग्रामीण स्तरका भित्री कच्ची सडक भने अवरुद्ध छन्।

यस्तै तम्घास रिडी सडक खण्डको विरवासमा गएको पहिरो पन्छाएपछि सडक सुचारु भएको छ। सो सडकमा गएको पहिरोका कारण तम्घासबाट बुटवलका लागि छुट्ने सवारी चल्न सकेका थिएनन्।  साना गाडी भने वैकल्पिक सडक भएर छुट्दै आएका थिए।

वर्षायामको समयमा बाढी पहिरो आउन सक्ने भएकाले चनाखो बन्न प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले आग्रह गरे। कुनै समस्या परेमा  तत्काल नजिकको प्रहरी कार्यालय वा प्रशासनमा खबर गर्न आग्रह गर्दै विपद्मा उद्धारका लागि सुरक्षाको टोली तयारी अवस्थामा रहेको उनको दाबी छ।

प्रतिक्रिया